पेसागत महासङ्घ नेपालसँग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रियस्तरको पहिलो टे«ड युनियन नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन (३० माघ देखि ०३ फागुन, २०८१, काठमाडौं) बाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुने अवसर प्राप्त गर्नु मेरा लागि संस्थागत जिम्मेवारी, सांगठनिक गौरव र आत्मसम्मानको विषय हो । यो बिजय केवल पदको होइन, सवै राष्ट्रसेवक कर्मचारीको भरोसा, संगठनप्रतिको विश्वास र पेसागत आन्दोलनको निरन्तरताको बिजय हो । मलाई यो जिम्मेवारी प्रदान गर्नु हुने सम्पूर्ण महाधिवेशनका प्रतिनिधिहरू, निवर्तमान नेतृत्व, अग्रज साथीहरू तथा आन्दोलनका नायकहरूप्रति म हृदयदेखि आभार प्रकट गर्दछु । म सवै राष्ट्रसेवक कर्मचारीहरुको साझा मञ्चको रूपमा यो जिम्मेवारीलाई निष्पक्ष, पारदर्शी र समर्पित भावनाका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । हाम्रो संगठनको इतिहास उपलव्धिहरूले मात्र होइन, अपार बलिदान र त्यागले भरिएको छ । देशका विभिन्न ठाउँमा पेसागत अधिकारका लागि लड्दा सहादत प्राप्त गर्नु भएका आदरणीय शहिद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्मा लगायत ज्ञात–अज्ञात शहिदहरूको वलिदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । त्यस्तै, वि.सं. २०४८ सालको ५६ दिने ऐतिहासिक कर्मचारी आन्दोलनमा सहभागी भएर राष्ट्रसेवकको अधिकार र गरिमाको संरक्षण गरेका जीवित आदरणीय शहिदहरूको साहस आज पनि हाम्रो प्रेरणाको स्रोत हो । वलिदानको यो परम्परालाई भुल्नै नसकिने पूँजी हो, जसको जगमा संगठन उभिएको महशुस गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । यो केवल पद प्रतिष्ठा मात्र नभई सम्पूर्ण निजामती सेवाको अभिभावकीय जिम्मेवारी हो । यो संगठन चालिस हजारभन्दा वढी सदस्यहरूको आशा, भरोसा र विश्वासको केन्द्र हो र त्यो विश्वासलाई व्यवहारमा परिणत गर्नु मेरो प्रमुख कर्तव्य रहेको छ । कर्मचारीहरूको पेसागत बिकास, सुरक्षित वातावरण, निष्पक्ष मूल्याङ्कन र सेवाको गरिमालाई बढाउने सवालमा म दृढ र प्रतिवद्ध रहने छु । संगठनले अव पनि राष्ट्रसेवक कर्मचारीहरुका आवाज समेट्ने र सिर्जनात्मक अभियानका साथ नीति निर्माणमा समेत उहाँहरूको भावनाको उचित प्रतिनिधित्व गर्नेछ । २१औँ शताव्दीको निजामती सेवा प्रविधिमैत्री, उत्तरदायी र जनमुखी हुनुपर्दछ । यसका लागि हामी ‘लाइनबाट होइन, अनलाईनबाट सेवा’ अभियानलाई प्राथमिकता दिनेछौँ । “मुस्कानसहित सेवा प्रदान गर्ने”, “शीघ्र सेवा–तीव्र बिकास” सुनिश्चित गर्ने, र “नागरिकसँग सम्मानजनक व्यवहार कायम गर्ने” हाम्रो दृढ संकल्प हुनेछ । यसका लागि सूचना प्रविधिको अधिकतम् उपयोग, कार्यशैलीमा पारदर्शिता र परिणाममुखी मूल्याङ्कन प्रणाली लागू गरिनेछ । निजामती सेवाले देश परिवर्तनको मूल आधार बन्न सक्ने सम्भावनालाई हामी व्यवहारमा उतार्ने अनवरत प्रत्यत्नमा रहनेछौँ र यो निरन्तर कायम रहनेछ । पछिल्ला तीन दशकभन्दा वढी समयदेखि संगठनले राष्ट्रसेवकहरूको अधिकार सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको छ । अब यो यात्रालाई थप संस्थागत बनाउँदै हामी संगठनको आन्तरिक सुदृढीकरण, नीति कार्यक्रमको सुधार, र सदस्य विस्तार अभियानलाई सशक्त रूपमा अघि बढाउनेछौँ । सहकारी संस्थाहरूको सुदृढीकरण, क्षमता बिकास तालिमको सञ्जाल विस्तार तथा संगठन सञ्चालनमा विधि, पद्धति र विधानअनुसारको अनुशासनले हाम्रो संगठनलाई नयाँ उचाईमा पु¥याउनेछ । हाम्रो संगठन अब केवल अधिकारको आन्दोलन मात्र होइन, परिवर्तनको निर्णायक नेतृत्व बन्नेछ । संघीयता कार्यान्वयन भएतापनि संघीय निजामती सेवा ऐन अझैसम्म पारित नहुनु तथा प्रादेशिक र स्थानीय तहका कानुनहरूको कार्यान्वयनमा देखिएको अस्पष्टताले कर्मचारीहरूको भविष्य अन्यौलमा परेको छ । तीन तहमा कार्यरत कर्मचारीहरुको सेवाशर्त, सुरक्षा र वृत्ति बिकासमा एकरूपता र स्पष्टता आवश्यक छ । यो संगठनले सरकारसँग निरन्तर संस्थागत संवाद गर्दै संघीय निजामती सेवा ऐन तत्काल ल्याउन जोडदार माग गर्दै आएको छ । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको अवस्था सुधार गर्दै सामाजिक सुरक्षाको दायरा विस्तार गर्नु आजको आवश्यकता हो । ट्रेड युनियनप्रतिको दृष्टिकोण अझै केही स्थानमा पूर्वाग्रही देखिन्छ । संसदमा विचाराधीन निजामती विधेयकमा ट्रेड युनियन अधिकारहरूप्रति उठेका प्रश्नहरूले चिन्ता व्यक्त गरिएको छ । संगठनले सरकार, उच्च प्रशासक र कर्मचारी वर्गबीच विश्वासको वातावरण पुनःस्थापना गर्न संवाद, साझेदारी र सहकार्यलाई प्राथमिकता दिनेछ । निष्पक्ष र विवेकशील निर्णय प्रक्रियाबाट मात्र प्रशासन सक्षम बन्न सक्छ, यसमा ट्रेड युनियनले सह–निर्माताको भूमिका खेल्नेछ । संघीय निजामती सेवा ऐनलाई एकीकृत मातृ ऐनका रूपमा स्वास्थ्य, संसद सेवा जस्ता विशेष अंग समेटेर ल्याउने अभियान अब निर्णायक चरणमा छ । साथै, वर्षौंदेखि रोकिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल सम्पन्न हुनु अत्यावश्यक छ । संगठनले २०८२ साललाई ऐतिहासिक उपलव्धिहरू हाँसिल गर्ने वर्षका रूपमा हेरेको छ । राष्ट्रसेवकहरूको सम्मान, हकहित, तथा व्यावसायिक गरिमालाई केन्द्रमा राखी हामी अगाडि बढ्नेछौँ । यो अवसरमा सम्पूर्ण कर्मचारी परिवार, अग्रज, संगठक साथीहरू, तथा न्यायप्रेमी सेवाग्राही एवम् आम नागरिकहरूमा आउँदै गरेको नयाँवर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै संगठनको हितमा अविराम जवाफदेही नेतृत्व गर्ने संकल्प गर्दछु ।
जय राष्ट्रसेवा !
जय संगठन !!